काठमाडौं – आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।नेपाली टोली सोमबार राती १०:३० मा त्रिभुवन विमानस्थलमा ओर्लेको थियो ।
आईतबार अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो । अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्ने समीकरण रहेको थियो । अघोषित रुपमा फाइनलजस्तो बनेको यस खेलमा नेपाल ८२ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।
घरेलु टोली सिंगापुर ४ खेलमा ३ मा जित सहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो । नेपालले पनि ४ खेलमा समान २ मा जित र हारका साथ समान ४ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दै तेस्रो बन्न पुग्यो । कुवेत चौथो र मलेसिया पाँचौ स्थानमा रहे । नेपालले पहिलो खेल कतारसँग ४ विकेटले हारेको थियो । मलेसिया र कुवेतलाई ७ विकेटले पराजित गरेपनि अन्तिम खेलमा सिंगापुरसँग पराजित हुँदा नेपाल एसिया छनोटबाटै बाहिरिनु परेको हो ।
नेपाली टोलीमा लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर सोमपाल कामी भने आएका छैनन् । सोपाल र सन्दीप आइतबार राती नै सिंगापुरबाट ग्लोबल टी २० क्यानडाका लागि गएका हुन् । सन्दीप टोरन्टो नेशनल र सोमपाल विनिपेग हक्सबाट खेल्ने छन् । सोमबार भएको नेशनल र विनिपेगबीचकोे खेलमा यी दुबै खेलाडीलाईलाई आराम दिएको थियो ।