logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहद्वारा मकवानपुरमा दुई वटा गाडीमा आगजनी, नुवाकोटमा बम विस्फोट


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाले मकवानपुरमा दुई वटा गाडीमा आगजनी गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै चन्द समूहका कार्यकर्ताले हेटौंडा–नारायणगढ सडक खण्डको मनहरी गाउँपालिका–९ ज्यामिरेमा ना. ५ ख १७३९ नम्बरको ट्रक र हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं सडक खण्डको हुमानेभन्ज्याङमा बा.१४ च ८२३५ नं को कारमा आगजनी गरेका हुन् ।

आगजनीका कारण कार पूर्णरुपमा क्षति भएको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी चन्द समूहका कार्यकर्ताले हेटौंको थानाभर्‍याङ, चौकीटोल, हुप्राचौरको क्विक ट्वेन्टीफोर होटल नजिक राखेको शंकास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा पनि आगजनी भएको छ । वडा कार्यालयमा अपरिचित मानिसको समूहले गएराति आगजनी गरेको हो । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन्

यस्तै नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा पनि गएराति बम विस्फोट भएको छ । विस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ । रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटार वडा कार्यालयमा पनि आगजनी भएको छ ।

आगजनी तथा बिस्फोटको जिम्मा कसैले नलिए पनि प्रहरीले चन्द समूहका कार्यकर्ताको संलग्नता हुनसक्ने आशंका गरेको छ ।