logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

गरिवी र पछौटेपन बदल्ने गरी काम गर्नुस् : प्रधानमन्त्री ओली


अंकुरण खबर
3.965K
Shares

काठमाडौं – देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिवी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पारे ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौता गरेपछि उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न पनि सबै मन्त्रीहरुलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दाबी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए । प्रधानमन्त्री ओलीले सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै सोही अनुसारको कार्य सम्पादन गर्नुपर्नेमा पनि जोड दिए ।

त्यस अवसरमा सचिवहरुले मन्त्रीहरुसँग पनि कार्य सम्पादन सम्झौता गरेका थिए । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौता गर्ने कामको सुरुवात गरिएको हो । प्रधानमन्त्री ओलीले सरकारको सो अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रममा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेको थियो । दुवै मन्त्रालयले पेश गरेको कार्ययोजनामा मन्त्रालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका मितिसहितको कार्ययोजना समावेश गरिएको छ ।