काठमाडौं।सन्दीप लामिछानेले आफ्नो प्रदर्शन सुधार गरेको खेलमा टोरन्टो नेस्नल्सले मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ । उनले टोरन्टोका लागि ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । १६ औं ओभरको पहिलो बलमा म्याट क्रसलाई एलबीडब्लु धरापमा पारेका थिए । अघिल्लो दिन उनी महँगो सावित हुँदा टोरन्टो पराजित हुन पुगेको थियो । टोरन्टोका लागि क्रिस गरिन र सलमान नाजारले २–२ विकेट लिए । मक्क्लिनाघन र गोर्डनको नाममा १–१ विकेट रहेको थियो ।
जवाफमा चिराग सुरीको अर्धशतक र ग्रीनको संयमित ब्याटिङमा टोरन्टोले १८ औं ओभरमा ६ विकेट गुमाउँदै जितको शुरुवाती खाता खोल्यो । चिरागले ३७ बलमा ५२ रन जोडे । ७ चौका र १ छक्का प्रहार गरेका थिए । ग्रीनले २९ बलमा २ चौका र १ छक्कासहित नटआउट ३० रनको योगदान दिए ।
टस जितेर फिल्डिङ रोजेको टोरन्टोले मोन्टरियललाई २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रनमा रोक्न सकेको थियो । ओपनर काइल कोट्जरले २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । लगातार विकेट खसेपछि मोन्टरियलले कमजोर योगफल खडा गरेको थियो । जितसँगै टोरन्टो ५ खेलमा २ जित र ३ हारसहित ४ अंक लिएर चौथो स्थानमा उक्लिएको छ । वल्भ्सको शीर्ष स्थानको ५ खेलमा ८ अंक रहेको छ ।