प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् ।
दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले केही दिनयता नेताहरुलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन् ।
‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ । पार्टी नेताहरुसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘आवश्यक ठानिएका सचिवालय र स्थायी समिति सदस्यहरुलाई बोलाएर कुराकानी गरिरहनुभएको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बपत लेनदेन भएको खुलेको छ ।
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालिन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार छन् ।
‘हामीलाई प्राप्त सूचनाअनुसार त्यतिबेला सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेबापत करिब २४ रोपनी जग्गा घूसबापत उनीहरुका आफन्त र नातेदारका नाममा सित्तैमा दिएको थियो,’ भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उच्च अधिकारीकाले बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीलेले लेखेका छन् ।
‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए।
केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन्। तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन्। परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए।
रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका–११ (साबिक अर्मा गाविस– ९) का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर किरिया गरेको अवस्थामा घर आएका हुन्। २०६१ सालमा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन। उनी घर नआएपछि परिवारले मृत्यु भइसकेको भनेर काजकिरिया गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा लोकेन्द्र खनालले लेखेका छन् ।
ग्यासको सिलिण्डर फड्कने कारण यस्ता छन्
नेपाल एलपी गयास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको बुझाईमा एलपी ग्यास विस्फोट र आगलागीका घटना जनचेतनाको परिणाम हो । विद्युत्को तार सर्ट भएर पनि ग्यास विस्फोट भएका छन् ।
उनले भने,‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरीजस्ता कारण पनि हुन्छन् ।’
ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास बोटलिङ प्लान्टका लागि मापदण्ड’ बनाएको थियो । गुणस्तर र मापदण्डमा ग्यास प्लान्टहरुले लापरबाही गर्नाले दुर्घटना निम्तिने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने ।
उद्योगी र व्यावसायीलाई कानुनी दायरामा ल्याउन र उपभोक्तालाई सचेत बनाउन नसक्दा दुर्घटना बढ्दै गएको छ । गुणस्तर विभागका अनुसार सिलिन्डरको आयु करिब ४० वर्ष हुनछ । सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५५ वर्षमा यसतो परीक्षण गराइराख्नुपर्छ । तर बजारमा पुगेको सिलिन्डरहरुको त्यस्तो परीक्षण पास गरेको सुनिश्चितता न सरकार निकायले गरेको छन् न अन्य कसैलै । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटा र राजु चौधरीले लेखेका छन् ।