काठमाडौं – स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई केहि लम्बिने भएको छ ।
उपचारका क्रममा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको काम नसकिएकाले उनको केहि दिन बसाई लम्बिन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि अस्पतालले बिहीबार साँझसम्म ओलीलाई डिस्चार्ज गर्ने र शुक्रबार राति ८ बजे नेपाल आइपुग्ने कार्यतालिका थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार डिस्चार्जअघि केही थप स्वास्थ्य परीक्षण गर्नुपर्ने भएका कारण प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिने भएको हो । कुन दिन फर्कने भन्ने मिति अहिले नै भन्न सक्ने अवस्था नरहेपनि सोमबारसम्ममा प्रधानमन्त्री स्वदेश फर्कने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत सिंगापुरमा छन् ।