काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मु कश्मीरबारे वार्ताबाट समाधान खोज्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले कश्मीरमा भइरहेको घटनाक्रमबारे नेपालले नजिकबाट नियालिरहेको बताएका हुन् ।
मन्त्री ज्ञवालीले कश्मीरलाई भारतको आन्तरिक मामिला नभनी भारत र पाकिस्ताबीचको द्विपक्षीय मामिला भएको बताए । ज्ञवालीले जम्मु कश्मीरको विषय नेपाल–भारत संयुक्त बैठकको एजेन्डा नबन्ने बताए । उनले नेपाल क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै जम्मु कश्मीरको विषयले त्यसमा समस्या नल्याउने पनि स्पष्ट पारे ।
ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पनै गर्न नसकिने बताए । कांग्रेस नेता प्रदिप गिरिले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिमतिमा भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ भनेका थिए ।
परराष्ट्रमन्त्रीले गिरिको सो भनाइको खण्डन पनि गरेका छन् । “नेपालको स्वतन्त्रतालाई त्यो ढंगको कल्पना गरिन्छ भन्ने सोच्ने विषय होइन,” उनले गिरिको भनाइको खण्डन गर्दै भने, “नेपाल सरकार त्यसको खण्डन गर्दछ ।”