काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले कम्युनिष्टहरु राजामहाराजाको प्रवृति देखिदै जान थालेकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष प्रचण्डले नेपालमा पनि कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको बताए । यसले पूर्वी युरोपमा जस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै लखेट्ने जस्तो अवस्था आउन सक्ने उनले बताए ।
एउटा प्रवृति माक्र्सबाद, लेनिनबाद, या द्धन्द्धात्मक तथा एतिहासिक भौतिकबादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरस पालना गर्ने भन्दा पनि मार्गदर्शन बनाउनुपर्ने बताए । उनले कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई विर्सदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहाना के हो ? कार्यशैली के हुने हो भन्ने विर्सेर विस्तारै–विस्तारै वुर्जुवा शैलीतर्फ जान थालेकोप्रति आफुलाई चिन्ता लागेको बताए ।