काठमाडौं – राष्ट्रियसभाका सांसदहरुले कश्मीरका विषयमा सरकार मौन रहेको भन्दै मौन बस्नु सफल कुटनीति नभएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद जितेन्द्र नारायण देवले कश्मीर समस्या बारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताए । उनले नजिकबाट नियालीरहेको भन्दै मौनता साँध्नु सफल कुटनीति नभएको बताए ।
सांसद देवले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाए । अर्का सांसद खेमराज नेपालीले मैथिली भाषालाई रेडियो नेपालको केन्द्रीय प्रशारणबाट हटाईएकोमा गम्भीर आपत्ती जनाए ।
सांसद बद्री प्रसाद पाण्डेले बाजुराका विभिन्न गाउँ बाढी पहिरोको जोखिमको खतरामा रहेकाले जोखिम युक्त बस्तिका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै सांसद रामप्रित पासवानले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिभिटीले भर्रखरै सार्वजनिक गरेको प्रोफिसेन्सी सर्टिफिकेट इन जेनेरल मेडिसिनको नतिजामा दलित लगायतका विद्यार्थीलाई दिईने कोटामा गैरदलितको नाम निकालिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।