काठमाडौं – स्वास्थ्य उपचारका लागि दुई साता लामो सिंगापुर बसाई सकेर फर्किएका प्रधानमन्त्री तथा नेपाल कम्यु्निष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबिच भेटवार्ता भएको छ ।
स्वास्थ्यउपचार सकेर नेपाल फर्किएलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओली शुक्रबार मध्यान्ह मात्रै काठमाडौं आइपुगेका थिए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी लिने र उनी नेपाल नहुँदा भएका पार्टीका यावत गतिविधिबारे जानकारी दिनका लागि अध्यक्ष दाहालले भेटवार्ता गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागि छन् । उनीहरुको बालुवाटारस्थि प्रधानमन्त्रीको सरकारी कार्यालयमा भेटवार्ता भइरहेको छ । स्वास्थ्य उपचारका क्रममा प्रधानमन्त्री सिंगापुर रहँदा पार्टीको सम्पूर्ण जिम्मा अध्यक्ष दाहाललाई दिइएको थियो ।