काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत संयुक्त परियोजना उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका छन् । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको रिमोटमार्फत् उद्घाटन गर्दै उनले यस्तो अनुभव सुनाएका हुन् ।
प्रधानमन्त्री मोदीले पेट्रोलियम पाइपलाइनको काम अपेक्षा गरेभन्दा अगाडि नै भएको भन्दै खुशी व्यक्त गरे । उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम सन्तोषजनक रहेको पनि बताए ।
दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्रीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भने, यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ ।’ प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै उनले छिट्टै आउने बचन पनि दिए ।
उनले बितेका ५ वर्षमा दुई देशले महत्वपूर्ण दुईपक्षीय परियोजनालाई पूरा गरेको र कैयौं अन्य प्रयासको परिणाम चाँडै प्राप्त हुनेसमेत जनाएका छन् । संयुक्त रुपमा पशुपतिनाथ धर्मशाला र आइसीपी वीरगन्जको उद्घाटन गरेको समेत मोदीले स्मरण गरेका छन् ।