काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए ।
पौडेलले भने, ‘बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो, बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।’ उनले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए ।
बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । सो अवसरमा उनले बिपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका–३ बिपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अङ्कित बोर्डको अनावरण गरेका थिए ।
तनहुँ गएर पहिलोपटक राखेको उद्गारलाई चीरस्थायी बनाउन होर्डिङ बोर्ड राखिएको कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । राष्ट्रिय जागरण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा सभा, सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ ।