क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा सन्दीप लामीछानेको बार्बाडोस ट्रिडेन्टले छैटौं खेलमा चौंथो हार ब्योहोरेको छ ।
आज बिहान भएको खेलमा बार्बाडोस जमैका तालेवाजसँग ५ रनले पराजित भयो । ब्रिगटाउनमा जमैका तलवाले दिएको १२८ रनको लक्ष्य पछ्याएको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाएको थियो । बार्बाडोसका लागि जोनसन चार्ल्सले ३१ तथा रेमन रिफरले २६ रन जोडेका थिए।
सन्दीप ९ रनमा अविजित रहेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । जमैकाका इमरान खान र शमार स्प्रिङगरले ३–३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो। जमैकाका लागि ग्लेन फिलिप्सले ४१ रन बनाए ।
यस्तै रामेल लेविसले २७ रन जोडे। जमैकाविरुद्ध सन्दीपले किफायती बलिङ गरे । ४ ओभरमा १७ रन खर्चेर सन्दीपले २ विकेट लिएका थिए । योसँगै सन्दीपले ६ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् । तर, सन्दीपले लिगका बाँकी खेल भने गुमाउने छन् । अब सन्दीप राष्ट्रिय टिममा सामेल हुन सिंगापुर जाने छन् ।
यस्तै बार्बाडोसका जासन होल्डर र रेमोन रिफरले पनि २–२ विकेट लिए। यो हारसँगै ६ टिम सहभागि प्रतियोगितामा बार्बाडोस ६ खेलमा ४ हार र २ जित सहित ४ अंक जोडेर लिग अंक तालिकाको चौंथो स्थानमा रहेको छ। दोस्रो जित निकालेको जमैकाको ८ खेलमा ४ अंक रहेको छ।