काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताएका छन् ।
काठमाडौं क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’कार्यक्रममा उनले चाडपर्वको बेला महँगी ह्वात्तै बढेको बताए ।
‘दुई तिहाइ जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन,’ उनले भने । जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको उनको भनाइ थियो ।
पूर्वउपप्रधानमन्त्री सिंहले सरकारलाई संविधानविपरीत काम नगर्न आग्रहसमेत गरे । ‘सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन,’ नेता सिंहले भने । नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउन सरकार गम्भीर हुनुपर्ने बताए ।