काठमाडौं – नेपाल र सिंगापुरबीचको टी-२० क्रिकेट खेलमा वर्षा बाधक बनेको छ । बुधबार साँझका लागि इन्डियन एसोसियसन मैदान सिंगापुरमा तोकिएको खेल लगातारको वर्षापछि टस पनि हुन नपाई रद्द भएको छ ।
योसँगै त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा नेपाल र सिंगापुरले १/१ अंक बाँड्न बाध्य भएका छन् । जसले गर्दा नेपालको प्रतियोगिता जित्ने सम्भावना समाप्त भएको छ।
हालसम्म ४ खेल खेलेको नेपालले १ खेलमा मात्र जित हात पार्न सकेको छ । जिम्बाबेसँगका दुवै खेल गुमाएपछि नेपाल दोस्रो स्थानमा खुम्चिएको हो । उता एक खेल खेल्न बाँकी रहेको जिम्बाबे २ जितका साथ शीर्ष स्थानमा छ । नेपालको जस्तै समान ३ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ ।
बुधबारको खेलमा नेपालले सिंगापुरलाई पराजित गर्न सकेको भए शीर्ष स्थानमा पुग्ने सम्भावना रहन्थ्यो, तर वर्षाका कारण खेल हुन सकेन । प्रतियोगिताको अन्तिम खेलमा आज जिम्बाबे र आयोजक सिंगापुर खेल्दैछन्। आजको खेलमा जित हात पार्ने टोली नै शृंखलाको विजेता बन्नेछ ।