काठमाडौं – नेपाल सम्मलित सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जिम्बावेले जितेको छ । बिहिबार राति भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले सिरिज जितेको हो ।
इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जिम्बावेका लागि पिटर मुरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै टोनी मुन्योगाले ४४ रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । संगापुरका लागि सुरेन्द्ररन चन्द्रमोहनले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। टिम डेभिडले ४७ रन बनाए ।
जिम्बावेका डेनील जिकेलले २ विकेट लिए ।जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो भयो ।आयोजक सिंगापुर ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।