काठमाडौं – संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा निष्पक्ष छानबिन गर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन ।
अध्यक्ष प्रचण्डले आज बिहान गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न र दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न आग्रह गरेको बताइएको छ । उक्त प्रकरणले व्यापक चर्चा पएपछि अध्यक्षले गृहमन्त्रीलाई निष्पक्ष छानबिन गर्न आग्रह गरेको प्रचण्डको सचिवालय स्रोतले बताएको छ ।
प्रचण्डले उक्त प्रकरणमा पार्टीबाट कुनै पनि दबाब नआउने र सरकारी सुरक्षा निकायले गरेको छानबिनलाई पार्टीले सघाउने पनि प्रतिबद्धता व्यक्त गरेका थिए । गृहमन्त्री थापाले नेपाल प्रहरीले उक्त प्रकरणको छानबिन गरिरहेको अध्यक्ष प्रचण्डलाई जानकारी दिएका थिए ।
महरालाई गत आइतबार शाहीको कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप लगेको छ । महराविरुद्ध शाहीले यौन दुर्व्यहार गरेको उजुरी दर्ता गरेकी छन् । यौन दुर्व्यवहारको आरोप लागेसँगै महराले सभामुखबाट राजीनामा दिएका छन । नेपाल प्रहरीले उक्त प्रकरणमा छानबिन थालेको छ ।