काठमाडौं – सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूकीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूकीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो।
सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूकीले नेपाल भ्रमण वर्षको प्रवरद्धनका लागि नेपाल आउने चाहाना राष्ट्रपति समक्ष व्यक्त गरेकी थिइन्। त्यहीकारण सरकारले भ्रमणको पूर्वतयारी अघि बढाइसकेको ज्ञवालीले जानकारी दिए। यद्यपि भ्रमणको मिति भने तय भइसकेको छैन।
मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पारे । उनले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको बताउँदै भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान सम्बन्धि महत्वपूर्ण सम्झौता भएको जानकारी दिए ।