काठमाडौं – मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटवल टोलीको बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा सो टोलीको बिदाइ गरेका हुन्।
खेलाडीको बिदाइपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष शेर्पाले म्यानमारविरुद्ध सो टोलीले उच्च प्रर्दशन गर्ने विश्वास व्यक्त गरे। उनले यस अघि म्यानमारविरुद्ध अन्डर-२३ र महिला टोलीले उच्च प्रदर्शन गरेको उल्लेख गर्दै आइतबार गएको टिमले पनि उच्च प्रदर्शन गर्ने बताए। २३ सदस्यीय खेलाडीसहितको सो टोली आइताबार दिउँसो नै म्यानमार प्रस्थान गरेको छ।
नेपालले म्यानमारसँग आगामी कार्तिक २१ गते बिहीबार मैत्रीपूर्ण खेल खेल्नेछ। कतारमा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग आगामी मंसीर ३ गते दशरथ रंगशालामा खेल्नेछ।
म्यानमारसँगको मैत्रीपूर्ण खेललाई कुवेतसँगको तयारीको रूपमा हेरिएको छ। विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौंथो स्थानमा रहेको छ।