गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल भएको बताएका छन् ।
गृह मन्त्रालय र प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षाको स्थिति पहिलेको जस्तो नभएको दावी गरे । ‘शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ, हिजो जस्तो अवस्था छैन,’ गृहमन्त्री थापाले भने, ‘शान्ति सुरक्षामा जुन समस्याहरु देखा परेका थिए, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरु भएका थिए, ती प्रयास धेरै हदसम्म समाधान भए ।
पूर्वसभामुख कृष्णबहादुर महरा, सांसद अफताव आलममाथि भइरहेको कानुनी कारवाहीतर्फ इंगित गर्दै गृहमन्त्री थापाले कानून कार्यान्वयनको प्रक्रिया ठोसरुपमा अघि बढेको बताए । प्रदेश प्रहरी गठनको लागि कानुनी प्रकृया धेरै अगाडि बढिसकेको भन्दै उनले अब छिट्टै प्रदेश प्रहरी गठनले सार्थकता पाउने बताए ।
चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालको विकास र समृद्धिका लागि कोशेढुंगा सावित हुने उनको भनाइ छ । अबको तीनरचार वर्षमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित सरकार अघि बढेको उल्लेख गर्दै उनले व्यापार घाटामा सुधार र निर्यात बढेको बताए ।