नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताएका छन् ।
प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् ।
उनले भने, “प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ । यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन ।”
नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उनीहरुमाथिको सम्मान भएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो ।”
पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पुर्याउने अभियानमा लागेको उल्लेख गर्दै उनले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गरे ।