नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताए ।
नेकपा काठमाडौं महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताए। हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उनले नेपाली भूमिको अतिक्रमण कुनै पनि नेपालीले सहन नसक्ने बताए । नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकांक्षाअनुसार काम हुन नसकेको बताउँदै खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे। उनले कमीकमजोरीलाई सच्याएर प्रभावकारी ढंगबाट सरकारका काम कारवाही अगाडि बढाउन सुझाव दिए ।
नेपाल संवत् सिंगो देशको संवत् भएको उल्लेख गर्दै नेता खनालले नेपाल संवत् नेपाली जनताको साझा सम्पत्तिका रुपमा रहेको बताए। सो अवसरमा नेपाली कला, संस्कृति झल्कने बाजागाजा, नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो।