काठमाडौं – भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतका नेपाली भू–भाग पारेको भन्दै नागरिकस्तरबाट विरोध भएपछि संसदीय समितिहरुले पनि चासो देखाएको छ ।
संसदीय समिति बैठकले यस बिषयमा सरकारको धारणा माग गर्ने तयारी गरेको हो । राज्य व्यवस्था समितिको सोमबार बिहान ११ बजे बस्ने बैठकमा यस बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली डाकेको छ ।
भारत अतिक्रमित भुमिका बारेमा भईरहेका अप्ठ्यारा र प्रगतिबारे जानकारी लिने समितिको तयारी छ । सीमा मिचिएको बारेमा प्रधानमन्त्रीसंग विस्तृतमा छलफल गरिने समितिका सभापति शशी श्रेष्ठले बताइन् ।
यस्तै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि यस बिषयमा सरकारको धारणा माग गर्ने तयारी छ । सोमबार नै बस्ने समिति बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई डाकिएको छ । दुवै बैठकले सीमा मिचिएको बिषयमा सरकारको धारणा माग गर्ने तयारी पनि गरेको छ ।
यसअघि शनिबार शनिवार प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक डाकेर भारत अतिक्रमित भुमीका बारेमा सुझाव लिएका थिए ।