काठमाडौं – क्रिकेटको मक्का मानिने बेलायतको लर्डसमा नेपालले आउने वर्ष फेरि क्रिकेट खेल्ने भएको छ। नेपालले आगामी अगस्ट २४ मा मेरिलेबन क्रिकेट क्लब (एमसिसी)सँग लर्डसमा क्रिकेट खेल्ने तय भएको हो।
लर्डसले बुधबार आगामी वर्ष हुने खेलको तालिका सार्वजनिक गरेको हो। आगामी वर्ष लर्डसमा विभिन्न देशले टेस्ट, एकदिवसीय र टि(ट्वान्टी क्रिकेट खेल्ने छन्। इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसिबी)को १००/१०० बल द हन्ड्रेडको प्रतियोगिताका केही खेल पनि लर्डस मैदान हुने भएका छन्।
द हन्ड्रेडमा नेपाली स्पिनर सन्दीप लामिछाने पनि अनुबन्धित भएका छन्। सन्दीपलाई ओभल इन्भिसिबल्स क्लबले आफ्नो टिममा आबद्ध गरेको हो। सन्दीपले राखेको १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ) मा ओभलले दोस्रो चरणमा टिममा आबद्ध गरेको हो।
विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा सन्दीप आबद्ध भएको यो अहिलेसम्मकै महँगो मूल्य हो।