१३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराब ब्याटिङका कारण बंगलादेशसँग १० विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।
बंगलादेशकी मुर्सिदा खातुनले २१ र आयशा रहमानले १७ रनमा अविजित रहिन् । त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल १९।२ ओभरमा ५० रनमा अल आउट भएको थियो ।
नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो ।
अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन् । त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए ।
बंगलादेशकी रबिया खानले ४, जहानारा आलमले २ तथा सलमान खातुन, नैहिदा अख्तर र फहिम खातुनले १र१ विकेट लिए ।
नेपालले आफ्नो पहिलो खेलमा कमजोर माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो भने बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले हराएको थियो ।