काठमाडौं – मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको हो।
राष्ट्रिय टिमका पूर्वकप्तान रहिसकेका विराज महर्जनसहितको स्टार खेलाडीले भरिएको मछिन्द्र क्लबले अर्का पूर्वकप्तान अनिल गुरुङको ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ। अखिल नेपाल फुटबल संघले उद्घाटन खेल दशरथ रंगशालामा खेलाउने भने पनि शुक्रबार परेको पानील मैदान हिलो भएपछि खेल एन्फा कम्प्लेक्सको मैदानमा सारिएको थियो।
शनिबार भएको खेलमा मच्छिन्द्रका लागि ३० औँ मिनेटमा योगेश गुरुङ गोल गरेका थिए। यस्तै, मच्छिन्द्रका दीपक राईले ५० औँ मिनेटमा गोल गर्दौ टिमलाई २-० को अग्रतामा पुर्याएका थिए। मच्छिन्द्रले खेल पहिलो हाफबाटै आक्रमक खेलेको थियो। १९औँ मिनेटमा रन्जित धिमालले फ्रि–किकमार्फत प्रहार गरेको बल पोस्टमा लाग्दै बाहिरिएको थियो।
दोस्रो हाफमा पनि अभिषेक रिजालको हेडिङमार्फत प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो। पटक–पटक अवसर बनाए पनि ब्रिगेड ब्वाइज भने गोल गर्न चुकेको थियो। ७६औँ मिनेटमा ब्रिगेड ब्वाइजले खाली पोस्टको अवसरसमेत सदुपयोग गर्न सकेन। दुई गोल गरेपछि रक्षात्मक देखिएको मच्छिन्द्रले दोस्रो हाफमा ब्रिगेडलाई रोक्न निकै मेहनत गर्नुपरेको थियो।