काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) ले विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एनआरटीले सरस्वती क्लबलाई ४–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । एनआरटीका लागि सरोज तामाङले दुई तथा जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा जुनियरले हेडमार्फत गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा सरोजले हेडमार्फत नै गोल गर्दै एनआरटीका लागि २–० को अग्रता दिलाए ।
८१ औं मिनेटमा तामाङले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ९० औं मिनेटमा एनडेम्बाले गोल गर्दै एनआरटीलाई ४–० को जित दिलाए ।