काठमाडौं – संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौं अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
अधिवेशनको पहिलो दिन दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रपति भण्डारीको संसद् अधिवेशन आह्वानको सूचना पढेर सुनाइनेछ ।
दोस्रो सत्रमा अघिल्लो अधिवेशनपछि निधन भएका पूर्वमन्त्री तथा सांसदहरुको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ ।
प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेकै अध्यक्षतामा शुरु हुने भएको छ । हाल सभामुखको पद रिक्त रहेको र उपसभामुख कायम रहेकाले अधिवेशनको पहिलो बैठक उपसभामुखबाट सञ्चालन गर्ने तयारी गरिएको हो ।
सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्ने संवैधानिक प्रावधानअनुसार नै तुम्बाहाङ्फेले अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने छिन् । संविधानको धारा ९१ ९४० को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने छिन् ।
संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को आगामी अधिवेशनको पूरै अवधि विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहेको छ ।