पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवनले लगातार दोस्रो जित निकालेको हो । चितवनले दिएको २ सय ४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवलले १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रन मात्र बनायो ।
बुटवलका लागि शिबम सिंहले सर्वाधिक ३३, भिम सार्कीले २१ र हरि चौहानले १२ रन बनाए । यस्तै अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बुटवललाई सस्तैमा समेट्न करण केसीले ४, रोहन मुस्तफाले २ तथा सन्नी पटेल, भुवन कार्की, विक्रम शोब र विक्रम भुषालले १९१ विकेट लिए ।
चितवनका लागि रोहन मुस्तफाले अविजित ७०, पारस खड्काले ६३ र आरिफ शेखले ४० रन बनाए ।
बुटवलका अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए ।
चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक ठुलो रन हो । जितसँगै चितवनले २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । बुटवलको २ खेलबाट २ अंक रहेको छ । बुटवल तालिकाको पुछारमा रहेको छ ।
पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो भने बुटवलले पहिलो खेलमा काठमाडौं गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो ।