logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विमलसहितका ४ खेलाडीको कारवाही घटाइयो, जरिवाना यथावत


अंकुरण खबर
676
Shares

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले प्रतिबन्धमा परेका चार जना खेलाडीको कारवाही घटाएको छ ।

एन्फाको अनुशासन कमिटिले आज विमल घर्ति मगरसहित दिनेश राजवंशी, अन्जन बिष्ट र सन्तोष तामाङमाथि गरिएको कारबाही २७ दिन घटाउने निर्णय गरेको हो ।

कारबाहीको अवधि धेरै भएको भन्दै खेलाडी तथा खेलाडी आवद्व सम्बन्धित क्लबले एन्फामा अपिल गरेपछि कमिटिले यो निर्णय गरेको हो ।

खेलाडीले अपिल गरेपछि उनीहरु कारवाहीको समय कार्तिक ३० गतेबाट लागु हुनेगरि परिमार्जन गरिएको हो । यसअघि अनुशासन समितिले चारै खेलाडीको निलम्बन मंसिर २७ बाट लागू हुने बताएको थियो ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन नाईट क्लबमा बिताएपछि अनुशासन कमिटिले विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो । यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको थियो ।

एन्फाले चारै खेलाडीमाथि गरिएको ५० हजार रुपैयाँ जरिवाना भने यथावत रहने जनाएको छ । यो निर्णयसँगै अन्जन र सन्तोषको निलम्बन पुस १५ बाट फुकुवा हुनेछ भने विमल र दिनेशको माघको ३० गते फुकुवा हुनेछ ।