नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन ।
प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताए ।
एमाले र माओवादी भन्ने इतिहास हो, श्रेष्ठले भने, नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा नेकपा लाग्दैन ।
उनले अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने पनि बताए ।
नेता श्रेष्ठले उपसभामुखको राजीनामा आउनेमा नेकपा ढुक्क रहेको बताउँदै संसद्को गतिरोधले छिट्टै निकास पाउने बताएका छन ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख पाउनका लागि नेकपाले उपसभामुखलाई राजीनामा दिलाउने उनले विश्वस्त पारे ।