काठमाडौं – उपाधि होडलाई मजबुत बनाउने लक्ष्यमा रहेको मच्छिन्द्र क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
आर्मीलाई उछिन्दै उपाधि यात्रा मजबुत र शीर्षस्थानमा पुग्ने रणनीतिका साथ मच्छिन्द्र लिगको नवौं चरणमा थ्रिस्टारसँग प्रतिस्पर्धा गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
अधिकांश राष्ट्रिय टोलीका खेलाडी रहेको मच्छिन्द्र विजय यात्रालाई कायम राख्न चाहन्छ भने युवा खेलाडीमा आश्रित थ्रिस्टार बिग्रिएको लय सुर्धार्ने योजनामा छ ।
मच्छिन्द्र यसअघिका ८ मध्ये ५ खेलमा विजय भएको छ भने २ खेलमा बराबरी र १ मा पराजित नतिजासहित १६ अंकका साथ लिगको दोस्रो स्थानमा छ ।
शीर्ष स्थानमा लागि सङ्घर्षरत थ्रिस्टार १४ अंकसहित चौथो स्थानमा छ । थ्रिस्टारले ४ खेलमा जित २ मा बराबरी र २ खेलमा हार ब्यहोरेको छ ।