मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार जारी संकटा क्लबविरुद्ध खेलको पहिलो हाफमा २.० को अग्रता लिएको छ ।
खेलको सातौं मिनेटमा अन्जन विष्टको प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए । लगत्तै मासाउके इटिग्नेको क्रसलाई मनाङका गोलरक्षक दिप कार्कीले बचाए । १५औं मिनेटमा कमल श्रेष्ठले मासाउकेलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा सुवास गुरुङको प्रहारलाई गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए ।
२०औं मिनेटमा बिमल रानाको प्रहारलाई गोलरक्षक बिनय श्रेष्ठले गल्ती गरेपनि बिष्णु सुनारले गोललाइन नजिकबाट क्लियर गरिदिदा मनाङ अग्रता लिनबाट चुक्यो । २२औं मिनेटमा निशान लिम्बुको क्रसलाई गोलरक्षक बिनयले सहजै नियन्त्रणमा लिए । २६औं मिनेटमा कर्ण बहादुर सुब्बाको प्रहारलाई गोलरक्षक दिपले बचाए ।
४२औं मिनेटमा लुइस भिडालको क्रसमा अन्जन विष्टको प्रहारलाई अमित तामाङले आफ्नै पोस्टमा गोल गर्न पुग्दा मनाङले खेलमा अग्रता बनायोे । लगत्तै अन्जन विष्टले वान भर्सेस वानमा गोल गर्दै मनाङलाई पहिलो हाफमा २.० को अग्रता दिलाए । डिफेन्डर रोमन लिम्वुको गल्तीमा अन्जनले गोलरक्षकलई विट गर्दै गोल गर्न सफल भए ।