काठमाडौं – मछिन्द्र फुटबल क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोमा बिहिबार भएको खेलमा पुछारको क्लब सरस्वती युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा पुगेको हो ।
मछिन्द्रको जितमा दिपक राईले दुई देवेन्द्र तामाङ, एडिलाजा सोमिडे, आन्द्रेस निया र विशाल राई ’ए’ ले एक/एक गोल गरे । खेलको ४० औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा दिपकले, ५९ औं मिनेटमा विशालले यस्तै खेलको ७७ औं मिनेटमा दिपकले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८७ औं मिनेटमा सरस्वतीका काजिमले पेनाल्टीमा गोल गर्दै खेल ४– १ मा ल्याए ।
यस्तै खेलको इन्जुरी समयमा सोमिडेले गोल गर्दै मछिन्द्रलाई ५–१ को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम केहि समय बाँकी रहदा आन्द्रेसले गोल गर्दै मछिन्द्र लाई ६–१ को फराकिलो जित दिलाए । जितसँगै मछिन्द्रले ११ खेलबाट २५ अंक जोडेको छ ।
मछिन्द्र त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।