काठमाडौं – विभागीय टिम नेपाल पुलिस क्लब शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा विजयी भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको हो ।
पुलिसका लागि जुमानु राईले ह्याट्रिक गरे । खेलको ४९ औं मिनेटमा जुमानुले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । ५६ औं मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा जुमानुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै पुलिसलाई ३–० को सहज जित दिलाए ।
फ्रेन्ड्सविरुद्ध ह्याट्रिक गरेसँगै जुमानु यस सिजनको लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।
जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ । पुलिस १३ खेलमा ६ मा जित सहित २० अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । फ्रेन्ड्स भने १३ खेलमा १४ अंक जोडेर दशौं स्थानमा छ ।