त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।
नेविसंघका महामन्त्री बलदेव तिम्सिनाले त्रिभुवन विश्व विद्यालयले विद्यार्थी संगठनको सहमति बिना नै विषेश कारण देखाउदै अर्को निर्णय नभएसम्मका लागि स्ववियू निर्वाचन स्थगित गरेर स्ववियूको अस्तित्वमाथि नै घात पु¥याउन खोजेको आरोप लगाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सरकार र त्रिभुवन विश्वविद्यालयको षड्यन्त्रपूर्ण तबरले स्ववियू निर्वाचन स्थगित गरेको आरोप लगाउँदै विद्यार्थी आन्दोलन ऐतिहासिक उपलब्धी स्ववियूलाई जोगाउने पक्षमा रहेको जनाएको छ ।
लोकतन्त्रका आधारभूत मुल्यमान्यतामाथि हस्तक्षेप गर्दै आएको बर्तमान सरकार र त्रिविविको स्वार्थ नमिलेका कारण सत्तारुढ निकट विद्यार्थी संगठनको सम्भावित पराजयबाट भाग्न स्ववियु निर्वाचन स्थगित गरिएको तिम्सिनाले आरोप लगाए ।
त्रिविविको यस्तो षडयन्त्रपूर्वक स्ववियू निर्वाचन स्थगित गर्ने हर्कतका विरुद्ध एकजुट हुन नेविसंघले आव्हान गरेको छ ।