स्कटिस ब्याट्सम्यान हेनरी जर्ज मुन्सेलाई पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग(एपिएल) खेल्नका लागि क्लबमा अनुबन्धन गरेको छ।
उसले सामाजिक सञ्जाल फेसबुकमार्फत मुन्सेलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। राइनोजले भनेको छ, ‘नेपालमै अत्याधिक पर्खाइमा रहेको प्रतियोगिता अझै रमाइलो हुने भएको छ। प्रतियोगितामा ए क्लास खेलाडीहरु समावेश हुँदै छन्।’
यस्तै मुन्सेले भनेका छन्, ‘म यो वर्षको एभरेष्ट प्रिमियर लिगमा भाग लिन उत्साहित छु। यो उत्कृष्ट प्रतियोगिता हुने भएको छ। म पोखराका तर्फबाट खेल्न पर्खिरहेको छु।’
मुन्सेले स्कटल्यान्ड राष्ट्रिय टोलीका तर्फबाट नेदरल्यान्डविरुद्ध खेल्दा टी-२० को एकै खेलमा अविजित १२७ रन बनाएका थिए।
पोखरा राइनोजले यसअघि नै वेस्टइन्डिजका क्रिसगेल र केस्रिक विलियम्सलाई अनुबन्धन गरिसकोको छ। पोखराले तेस्रो विदेशी खेलाडीका रुपमा मुन्सेलाई टिममा भित्र्याएको हो।