logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पाको माडी क्षेत्रमा बिजुली बल्यो


अंकुरण खबर
1.365K
Shares

रोल्पाको माडी क्षेत्रले पहिलोपटक राष्ट्रिय विद्युत प्रसारण प्रणालीबाट बिजुली पाएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले घर्ती गाउँमा भएको एक कार्यक्रमबीच माडी गाउँपापलिका अध्यक्ष नन्दबहादुर पुनलाई मिटर बक्स हस्तान्तरण गरेर विद्युतीकरणको शुभारम्भ गरेका हुन्। बुटवल पारव कम्पनीले प्यूठानमा निर्माण गरेको झिम्रुक जलविद्युत केन्द्रबाट माडीमा विद्युत पु(याइएको हो।

माडी क्षेत्रका चार सय ग्राहकलाई मिटर बक्स प्रदान गरिएको छ । प्रतिनिधिसभामा रोल्पाबाट निर्वाचित मन्त्री पुनले दुई वर्षभित्र जिल्लालाई पूर्ण रुपमा विद्युतीकरण गरिसक्ने घोषणा गरेका छन् । ‘दुई वर्षभित्र रोल्पालाई पूर्ण विद्युतीकरण गरिसक्ने मेरो प्रतिबद्धता छ’, उनले भने ,‘अब रोल्पालीले अँध्यारोमा बस्नुपर्दैन ।’ निर्वाचनका बेला मन्त्री पुनले आफ्नो कार्यकालभित्रै जिल्लालाई पूर्ण विद्युतीकरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । ‘निर्वाचनमा मैले मतदाताका अगाडि गरेको प्रतिबद्धता पूरा गरेर छाड्छु’, मन्त्री पुनले भने ।

नेपाल विद्युत प्राधिकरण रोल्पाका वितरण केन्द्र प्रमुख श्याम शर्माले मन्त्री पुनको निर्देशनअनुसार दुई वर्षभित्र रोल्पाका ७२ वटै वडालाई आध्यारो मुक्त बनाइने बताए । शर्माका अनुसार जिल्लाका हरेक वडामा विजुलीको पोल गाड्ने कामका लागि टेण्डर समेत आह्वान भइसकेको छ र तीव्र गतिमा काम अघि बढाइको छ ।