विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।
आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम बढेकाले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह गरेका हुन्। सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विभिन्न चरणमा पूर्व तयारी गरिरहेको उनले बताए।
मन्त्री ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचाँजमा कडाई गर्ने तयारी गरेको बताए। मन्त्री ढकालले देशबाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको बताए ।
उनले भने, सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि सरकारले गरेको छ । सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा सम्बाद समेत प्रभावित हुने देखिन्छ।