पोखरामा जारी आहा रारा गोल्डकपको दोस्रो क्वाटरफाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र झापा-११ फुटबल क्लब भिड्दै छन् ।
पहिलो हाफमा खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको ११ औं मिनेटमा मनाङका अन्जन विष्टले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । १७ औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा आदित्य चौधरीको हेडरलाई झापाका गोलरक्षक राजकुमार लिम्बूले बचाए ।
२९ औं मिनेटमा निशान लिम्बुले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेको अवस्थामा गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
लगातार दवाव बनाएको मनाङ ३३ औं मिनेटमा पुनस् अर्को अवसरबाट चुक्यो । गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा फरवार्ड विमल रानाले सट प्रहार गर्न सकेनन् । ४२ औं मिनेटमा विमलको फ्लिक हेडरमा दयानन्द सिंहले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको भली प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा अन्जनको प्रहार गोलरक्षक राजकुमारले बचाउँदा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।