उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीले सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी पार्टी फुटाउने षड्यन्त्रका लागि अध्यादेश ल्याएको आरोप लगाएको छ ।
सरकारले सोमबार ल्याएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशभित्र मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्र समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने नियत लुकेको सो दलको आरोप छ ।
अध्यक्ष उपेन्द्र यादवले मंगलबार जारी गरेको विज्ञप्तिमा कोरोनाभाइरस (कोभिड–१९) बाट आक्रान्त भइ नेपाली जनता लकडाउनको पीडा भोगिरहेको अवस्थामा सरकारले ल्याएका दुई अध्यादेशले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ दाबी गरिएको छ ।
‘अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन्,’ यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यादवले अध्यदेश फिर्ता लिन सरकारसँग मागसमेत गरेका छन्। यादवले कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैरलोकतान्त्रिक कदमका विरुद्ध एकतावद्ध हुन आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग अपिल गरेका छन् ।