logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मजदूर दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना


अंकुरण खबर
780
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसका कारण श्रम बजार बन्द हुँदा श्रमिकहरुको जीवन कष्टकर बनेको भन्दै यसप्रति आफू संवेदनशील रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले महामारीका कारण परिस्थिति प्रतिकूल रहे पनि कोही पनि भोको बस्ने अवस्था नआउने बताएका छन्।

करीब १७ मिनेटको भिडियो सन्देशमा प्रधानमन्त्रीले उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत श्रमिक र महामारीको चेपुवामा परेका प्रवासी कामदारको अवस्थाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गरेका छन्। “घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन, रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ। तपाईंहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।

प्रधानमन्त्रीले श्रममा जान नपाएका वा श्रम गुमाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिने बताएका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाइँमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ सम्पूर्ण प्रयास केन्द्रित हुने बताएका छन्। उनले भने, ‘सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिनेछ।’

प्रधानमन्त्रीले राहत सुविधा अल्पकालीन उपाय मात्रै भएको भन्दै सबैलाई काम दिने सरकारको पहिलो लक्ष्य हुने उल्लेख गरेका छन्। काममा रहेकाहरुका लागि न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने भन्दै प्रधानमन्त्रीले कसैको पनि आम्दानी रोकिने वा खोसिने स्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनीहरुको दक्षता अनुसारको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गरिने प्रधानमन्त्रीले बताएका छन्।