स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु आगामी जुनमा शुरु हुने भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण रोकिएका खेल महामारी कम हुँदै गएपछि शुरु गर्ने तयारी थालिएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै जाने क्रम जारी रहेमा खेल शुरु गर्नका लागि चार हप्ताको समय लाग्ने ला लिगाले जनाएको छ । क्लबहरुले लिगका बाँकी खेल शुरु गर्नका लागि योजना बनाउन थालेका हुन् ।
लकडाउनमा पनि केही छुट दिन थालिएपछि क्लवहरु यही हप्ताबाट प्रशिक्षणमा फर्कदैछन् । व्यक्तिगत प्रशिक्षणपछि सानो समूहमा प्रशिक्षण गर्ने र त्यसपछि मात्रै टिम प्रशिक्षणको योजना छ । त्यसअघि खेलाडीको कोरोना संक्रमण परीक्षण समेत गरिने छ ।
शीर्ष डिभिजनका खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षणको व्यवस्था गरिएको छ । प्रशिक्षणमा सुरक्षात्मक उपाय अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । कोरोना संक्रमण शुरु भएपछि मार्चदेखि नै स्पेनमा फुटबल गतिविधि स्थगित गरिएको छ । ला लिगामा यो सिजनका ११ चरणका खेलहरु बाँकी छन् । एजेन्सी