जर्मनीमा प्रशिक्षणमा फर्किन लागेका १० जना फुटबल खेलाडीमा कोरोना भाइरसको संक्रमण पाइएको छ।
कोरोना भाइरसको महामारीकै बीच फुटबलको प्रशिक्षणमा फर्किने क्रममा गरिएको जाँचमा दुईवटा शीर्ष क्लबका १० खेलाडीमा कोरोना संक्रमण पाइएको हो।
अर्को साताबाट पूर्ण रूपमा प्रशिक्षण गरेर बुन्डेस लिगा सूचारु गर्ने तयारीमा रहेको अवस्थामा १७ सय २४ जना खेलाडीको कोरोना परीक्षण गरिएको थियो।
खेलाडीहरुलाई छुट्टाछुट्टै समूहमा प्रशिक्षण गराइरहेको लिगले शुरुमा सबैको कोरोना परीक्षण गरेर मात्रै प्रशिक्षणमा जान दिइरहेको छ। संक्रमित पाइएका खेलाडीहरुलाई आइसोलेसनमा राखिएको छ।
युरोपका अन्य देशको तुलनामा कम संक्रमण रहेको जर्मनीले सबैभन्दा पहिलो फुटबल लिगहरु सुचारु गर्ने तयारी गरेको छ। यसअघि मे ९ मा सुचारु गर्ने भने पनि सरकारले रोक लगाएपछि अब मे १६ देखि वा त्यसको अर्को हप्तामा बुन्डेसलिगा सञ्चालन गर्ने तयारी गरिएको छ । एजेन्सी