पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सधैभरी विवाद गर्नु भन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताएका छन्।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा सँधैभरी विवाद गर्नुभन्दा कन्ट्रोल गर्नु राम्रो हुने र त्यसका लागि काँडेतार वा पर्खाल खडा गर्नु नै उपयुक्त हुने बताएका हुन् ।
उनले विभिन्न ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने एवं सडक बनाउने काम गरिरहने भएकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनु पर्ने बताए।
नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नुपर्ने समेत बताएका छन् । नक्सामा विवाद हुँदा अनावस्यक रुपमा भारतसँग नकारात्मक भावना उत्पन्न भएको भन्दै समस्या समाधानका लागि छिट्टै छलफल चलाउन भारत तयार हुनुपर्ने बताए ।