दक्षिण अफ्रिका क्रिकेट टिमका पूर्वकप्तान फाफ डु प्लेसिसले टी–ट्वान्टी विश्वकप अघि र पछि खेलाडीहरूलाई आइसोलेसनमा राख्नुपर्ने बताएका छन् ।
उनले कोरोना महामारीबीच अस्ट्रेलियामा तय भएको टी–ट्वान्टी विश्वकपका खेलाडीले प्रतियोगिताअघि र पछि दुई साता आइसोलेसनमा राख्नुपर्ने सुझाएका हुन् ।
“मलाई एकिन थाहा छैन । तर, धेरै देशका लागि यो यात्रा एक मुद्दा बन्न सक्छ । सायदै अस्ट्रेलियामा अन्य देशभन्दा भाइरसको संक्रमण कम छ । तर, बंगलादेश, दक्षिण अफ्रिका र भारतलगायत देशमा कोरोनाको खतरा धेरै छ । जहाँ यो सबैको स्वास्थ्यका लागि जोखिम हुन सक्छ,” डु प्लेसिसले भने, “यदि विश्वकप खेल्नु छ भने प्रतियोगिता अघि र पछि दुई साता आइसोलेसनमा बस्नुपर्छ ।”
३५ वर्षीय डु प्लेसिसले यसै वर्ष आफ्नो कप्तानीबाट राजीनामा दिएका थिए । उनले संन्यास लिँदा आफूले कप्तानीको आनन्द लिइसकेको बताएका थिए । टी–ट्वान्टी विश्वकपको आयोजना १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने तय भएको छ । एजेन्सी