नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमला रोकाले काठमाडौंमा मजदुरी गरेर जीवन गुजारा गर्दै आएका रुकुम पूर्वका ५१ घरपरिवारलाई राहत वितरण गरेकी छिन् ।
काठमाडौंको गोलढुंगामा बसोवास गर्ने ५१ विपन्न परिवारलाई सांसद रोकाले आज दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएकी हुन् । राहत लिएर पुगेकी सांसद रोकालाई जनताले फूलको माला लगाएर स्वागत गरेका थिए ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले तोकेको लकडाउन अवधि लम्बिदै जाँदा जिल्लाबाट काठमाडौं आएर बस्ने र त्यस क्षेत्रमा समस्यामा परेका आफ्ना जिल्लाका नागरिकलाई राहत उपलब्ध गराएकी हुन् । राहत लिएर गोलढुंगा पुगेकी सांसद रोकाले कोरोनाबाट बच्न सरसफाईमा विशेष ध्यान दिन समेत आग्रह गरिन् ।
जिल्लाबाट विभिन्न प्रयोजनका लागी राजधानीमा रहेका जनताहरु भोकै बस्न पर्ने स्थिती आउन नदिन आफुले विशेष अभियान थालेको बताइन् । रोकाले भनिन् , ” राहत वितरण अभियानमा मेरो जिल्लाका दाजु भाइ दिदी बहिनीहरुलाई सहयोग गरीदिने सहयोगी मनहरु: सञ्जय कक्षपती, श्याम श्रेष्ठ, कमल सिटौला, गोपाल महर्जन, छेवाङ लामा र सुरतजङ मल्ल लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ।”
उनले सबै सहयोग गर्नेहरुलाई धन्यबाद दिंदै निस्वार्थ भावले आ-आफ्नो ठाउँबाट आफ्नो गाँस कटाएर गरिव र भोकाहरुलाई सहयोग गर्नु वास्तविक मानवियता भएको बताइन् । लकडाउनका कारण दैनिकी चलाउन गाह्रो भएकाहरुलाई सांसद रोकाले आफ्नो सम्पर्कमा आउँन समेत आग्रह गरेकी छिन् ।
सांसद रोकाले यो भन्दा पहिले पनि ६५ घर परिवारलाई राहत वितरण गरिसकेकी छिन् ।