नागरिकता विधेयकबारे आज (आइतबार) पनि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुँदैछ।
दिउँसो दुई बजे बस्ने बैठक विधेयकबारे टुंगोमा पुग्ने अपेक्षा गरिएको छ। समितिले पटक पटक विधेयक टुंग्याउने गरी बैठक बोलाए पनि दलहरुबीच सहमति कायम हुन नसक्दा विधेयक अघि बढेको छैन।
हिजो मात्रै सत्तारुढ दल नेकपाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ। बैठकले यस्तो नागरिकता लिन सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय पनि गरेको छ।
यसअघि २ असारमा टुंग्याउने गरी समितिले बैठक बोलाए पनि कांग्रसले पार्टीमा छलफलका लागि समय मागेको थियो। त्यसपछि ३ असारको बैठकमा गृहमन्त्रीले सहमतिका समय मागेपछि समिति टुङ्गोमा पुग्न सकेन।
‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ झण्डै दुई वर्षदेखि अलमलिएर बसेको छ। विधेयक सरकारको तर्फबाट गृहमन्त्री थापाले २२ साउन २०७५ मा संसदमा दर्ता गराएका थिए।