राजनीति

नेपाल र चीनको सीमा सम्बन्धमा केही भ्रमात्मक समाचार प्रकाशित भयो : परराष्ट्रमन्त्री ज्ञवाली

सरकारले उत्तरी छिमेकीसँग सीमामा समस्या नभएको स्पष्ट पारेको छ ।

सगरमाथाको उचाइ यकिन गर्नेबाहेक अन्य सीमा विवाद नरहेको सरकारले प्रष्ट पारेको हो ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्षसँग समय लिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनतर्फ पनि ७ जिल्लामा सीमा मिचिएको भन्ने खालका समाचार गलत भएको बताएका हुन् ।

‘नेपाल र चीनको सीमा सम्बन्धमा केही भ्रमात्मक, र केही बनावटी समाचार प्रकाशित भइरहेको सम्बन्धमा म केही कुरा प्रस्ट पार्न चाहन्छु,’ मन्त्री ज्ञवालीले भने, ‘कृषि मन्त्रालयको हवाला दिएर सिलसिलावार ढंगले समाचार आए, नेपालका केही भू-भाग चीनले अतिक्रमण गरेको कुरा भनियो । यसका बारेमा कृषि तथा पशुपंक्षी मन्त्रालयले प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले पनि नेपाल र चीनको सीमामा अन्त कहीं विवाद नभएको स्पष्ट गरेको छ ।’

मन्त्री ज्ञवालीले नेपाल चीन र भारतको त्रिदेशीय सीमा टुंगो लाग्न नसकेका कारण शून्य नम्बरको पिल्लर राख्न नसकिएको बताए । उनले सगरमाथाको सीमाको यकिन गर्नेबाहेक चीनसँग सीमा विवाद नरहेको स्पष्ट गरे ।

Comment here