राष्ट्रपति विद्यादेवी भण्डारीसमेत पार्टीको विवादमा मुछिएपछि नेकपा अध्यक्ष प्रचण्डसहितका नेता शीतल निवास जाँदै छन् ।
राष्ट्रपति भण्डारीसँग बिहान ११ बजेका लागि भेटवार्ता तय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता हुँदै छ । बिहान ११ः३० बजे भेटवार्ताका लागि समय निर्धारण भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
शीतलनिवासबाट फर्किएपछि भेटघाटको सम्भावना रहेको वरिष्ठ नेता खनालको भनाइ छ ।
यसैबीच शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरूद्ध षड्यन्त्र भइरहेको बताएपछि नेकपा विवादमा शीतल निवासको प्रवेश भएको छ । अध्यक्ष प्रचण्डसहितका नेताले महाभियोग लगाउने तयारी गरेको भन्दै पार्टीभित्रको विवाद तन्किएर शीतल निवाससम्म पुगेको हो ।
पार्टीका प्रवक्ता श्रेष्ठले ट्विटमार्फत खण्डन गरेका छन् । यसै विषयमा छलफल गर्न नेताहरू शीतल निवास जान लागेको बुझिएको छ ।